काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका भित्रका विद्यालयहरूमा शैक्षिक सत्र २०८१ का लागि नयाँ भर्ना जारी छ । ‘सबै बालबालिकालाई विद्यालय ल्याऔँ, टिकाऔँ र सिकाऔँ’ भन्ने नाराका साथ बालबालिकालाई विद्यालयमा ल्याउन र टिकाउन माइ सेकेण्ड गार्जेन अभियान सञ्चालन गरेको नगरपालिकाले जनाएको छ । आर्थिक रुपले विपन्न र सामाजिक दृष्टिले वञ्चितीकरणमा परेका कोही पनि बालबालिका कुनैपनि कारणले विद्यालय बाहिर रहन नपरोस् भन्ने नगरपालिकाको उद्धेश्य रहेको छ ।
नगरपालिकाले यसैवर्ष अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित भएको घोषणा गर्दैछ । बालबालिकालाई विद्यालयमा भर्ना गराई उनीहरुका लागि संस्कारसहितको गुणस्तरीय शिक्षा सुनिश्चित गरिदिन अभिभावकहरुलाई नगरपालिकाका मेयर उपेन्द्र कार्कीले अनुरोध गरेका छन् ।
यस अभियानको सफलताका लागि स्वेच्छिक रूपमा एक वा सोभन्दा बढी बालबालिकालाई विद्यालय भर्ना गराई अभिभावकत्व ग्रहण गरी त्यस्ता विद्यार्थीको ‘सेकेण्ड गार्जेन’ बनिदिन शिक्षाप्रेमी, समाजसेवी, कलाकार, पत्रकार, व्यापारी, उद्योगपति, राजनीतिज्ञ, जनप्रतिनिधि, शिक्षक कर्मचारीलगायत परोपकारी एवम् समाजसेवी भावना भएका सबैमा नगरपालिकाले अनुरोध गरेको छ ।
साथै, नगरपालिका भित्रका विद्यालयमा अध्ययन गरी विभिन्न क्षेत्रमा लागेका पूर्व विद्यार्थीहरुलाई आआफ्ना विद्यालयमा संगठित भइ पूर्व विद्यार्थी समाज गठन गर्न र सामुदायिक विद्यालय सुधार एवं यस भर्ना अभियानमा साथ दिन समेत नगरपालिकाले आह्वान गरेको छ ।