
जापान : कानागावा प्रिफेक्चरको योकोसुका सिटी र भरतपुर महानगर पालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको ३ वर्षपछि त्यसलाई निरन्तरता दिनका लागि सम्झौता पत्र (Memorandum of understanding ) मा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा हस्ताक्षरका लागि जापान भ्रमणमा रहेकी भरतपुर महानगरपालिका नगर प्रमुख श्री रेणु दाहाल र योकोसुका सिटीका मेयर कातासुकी कामाजी बिचमा भएको सम्झौतामा दुई नगरपालिकाले प्राविधिक ज्ञान, शिक्षा, सरसफाई, बेरोजगारीको अन्त्यका लागि सहयोग आदानप्रदान गर्ने गरि सम्झौता पत्रमा हस्ताक्षार गरिएको हो ।

जनप्रतिनिधि र कर्मचारी स्तरमा अनुभव आदानप्रदानसहित आवश्यक अन्य सहयोग गर्नका लागि योकोसुका सिटीसंग छोटो मध्यम र लामो अवधिमा सहयोग आदानप्रदान हुने गरि सम्झौता भएको छ भरतपुर महानगरपालिका नगर प्रमुख दाहालले भनिन्- यस खालका कार्यक्रमले दुई देशका बिचमा रहेको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाई नगरको विकास र प्रणाली सुधारमा टेवा पुर्याउने छ ।
जापान भ्रमणले यहाँका नागरिकमा रहेको अनुशासन र जिम्मेवारी बोध सेवा प्रदायकहरूमा रहेको सुशासन, सहज सेवा प्रवाह, कामप्रतिको लगनशीलता र जनताप्रतिको उत्तरदायित्वले निकै नै प्रभाव पारेकोले त्यो अनुभवलाई आफूले सक्दो अबलम्वन गर्ने नगर प्रमुख दाहालले बताइन् ।

योकोसुका सिटीको कार्य स्थलको अवलोकन समेत गरेकी नगर प्रमुख दाहालले प्रशासनिक काम गर्दा जापानले अबलम्वन गरेको कार्य स्थलको कर्मचारीको बसाईले सेवाग्राहीलाई हुने गरेको सहजतासहितको पारदर्शिताबाट आफू प्रभावित भएकोले भरतपुरमा १ अरबको लगानीमा बन्न लागेको प्रशासनिक भवनमा केहि सुधार गर्ने बताइन् ।
भरतपुरलाई देशकै नमूना सहर बनाउछु – मेयर दाहाल
भरतपुर महानगरपालिकाकी मेयर दाहालले विदेशमा बस्ने नेपालीहरुलाई देशमा लगानी भित्र्याउन अपील गरेकी छिन् ।

बुधबार टोकियोमा आयोजित एक कार्यक्रममा बोल्दै मेयर दाहालले भरतपुर महानगरपालिकाको बिकास र समृद्धिका लागि आफु अहोरात्र खटिरहेको धारणा ब्यक्त गर्दै गएको पाँच वर्षमा भए-गरेका कार्यप्रगतिको मुल्याङ्कन गर्दै महानगरबासीले आफुलाई पुनः दोस्रोचोटी निर्वाचित गराएको बताईन् ।
उनले अगाडि भनिन् – ‘विगतका अधुरा कामहरु सम्पन्न गर्न र भरतपुर महानगरपालिकामा थप नयाँ मेघा प्रोजेक्टहरु सफलताका साथ सम्पन्न गरी देशकै एउटा नमूना र पर्यटकीय नगरीकोरुपमा बिकास गर्न इमान्दारीपूर्वक लाग्ने प्रतिबद्धता ब्यक्त गर्दछु । यस कार्यमा यहाँहरुको पनि रचनात्मक साथ, सहयोग र समर्थनको अपेक्षा गर्दछु ।’
चितवन समाज जापानले आयोजना गरेको मेयर दाहालको स्वागत तथा भेटघाट कार्यक्रममा सो समाजका सल्लाहकारहरु ओम गुरुङ, भूषण घिमिरे, संस्थापक अध्यक्ष लोकनाथ वस्ती, समाजसेवी सरिता ढकाल, एनआरएन जापानका अध्यक्ष शिवप्रसाद पौडेल, एनआरएन आइसीसी उपाध्यक्ष महेशकुमार श्रेष्ठ लगायतका ब्यक्तिहरुले पनि बोलेका थिए । कार्यक्रम समाजका अध्यक्ष राजनकुमार श्रेष्ठको सभापतित्वमा भएको थियो भने सञ्चालन महासचिव हरि पौडेलले गरेका थिए ।
एनआरएनएसंगको अन्तरक्रिया
नगर प्रमुख दाहालसहित नेपालका विभिन्न पालिका प्रमुखहरूको जापान भ्रमणलाई ध्यानमा राखेर एनआरएनए जापानले नेपालको स्थानीय तहका सरकारका कामकार्यवाही र सेवा प्रदान गर्नेमा जापानको सिकाई विषयक अन्तरक्रियामा दाहालले विदेशमा सिकेको ज्ञान सिप अनुभव र पूँजीलाई स्वदेशमा समुचित उपयोग गर्नका लागि एनआरएनएहरूलाई आव्हान गरिन ।

नेपालमा अहिले लगानीमैत्री वातावरण रहेकोले अधिकतम रूपमा एनआरएनएले लगानी गरेर स्वदेशमा नै रोज़गारी सृजना गरेर जन्मभूमिप्रति थप योगदान गर्न उनले आव्हान समेत गरिन । एनआरएनए मात्र नभएर जापानी लगानीकर्तालाई पनि नेपालमा लगानी गर्न उप्रेरित गराउन एनआरएनएको भूमिका अहम् हुने उनको भनाई थियो ।
जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीसहितको उपस्थितिमा भएको उक़्त कार्यक्रममा नेपालमा लगानी गर्ने वातावरण रहेको बारेमा सकारात्मक भूमिका र आवश्यक समन्वयात्मक कार्य गर्न आफू दत्तचित्त भएर लाग्ने राजदूत डा सुवेदीले बताए ।
भरतपुर महानगरपालिका प्रमुख दाहाल, सुर्यबिनायक नगरपालिका प्रमुख बासुदेव थापा, कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्की, चन्द्रागिरी नगरपालिका प्रमुख घनश्याम गिरि तथा नेकपा एमालेका केन्द्रीय सदस्य बिनोद ढकाल, नेकपा माओवादीका केन्द्रीय सदस्य तथा वाइसीएल इंचार्ज रामप्रसाद सापकोटा दीपशिखा नेपाल सरकारका बिभिन्न मन्त्रालयका पाँच जना वरिष्ठ कर्मचारी, एनआरएनए जापानका पदाधिकारी जापान स्थित नेपाली संघ संस्थामा आबद्ध सामाजिक व्यक्तित्व लगायतको उपस्थितिमा भएको अन्तरक्रिया कार्यक्रममा अनुभव साटासाटले नेपालको स्थानीय तहका सरकारका कामकार्यवाही र सेवा प्रदान गर्नेमा जापानको सिकाईले योगदान पुर्याउने बिश्वास व्यक्त गरिएको थियो ।
नेपाली राजदुताबास टोकियोको स्वागत तथा सम्मान कार्यक्रम
जापान भ्रमणमा रहेकी भरतपुर महानगरपालिका नगर प्रमुख दाहालको सम्मानमा नेपाली राजदुताबास टोकियोले गरेको कार्यक्रममा आगामी वर्ष भरतपुर महानगरपालिकाले गर्न लागेको भ्रमण वर्ष-२०२४ मा जापानी नागरिक लगायतलाई भ्रमणका लागि आमन्त्रण गरेकी छन ।

जापानको नगरपालिकाका प्रतिनिधि, नेपालका लागि जापानी पूर्व राजदूत, नेपाल मामिलामा चासो राख्ने जापानी नागरिक, लगायतको उपस्थिति रहेको उक़्त कार्यक्रममा नेपालसहित चितवनमा पर्यटन प्रवर्द्धन, लगानीको विकास लगायतको प्रबर्द्धनका लागि गरिन लागिएको भ्रमण वर्षमा जापानसहित विश्वभरि रहेका हरेक नेपालीलाई आवश्यक सहयोग गरिदिनका लागि समेत दाहालले अनुरोध गरिन ।
नेपाली जनप्रगतिशील मञ्च जापानसंग दाहालको अन्तरक्रिया
कानागावा प्रिफेक्चरको योकोसुका सिटी र भरतपुर महानगर पालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्ने कार्यक्रमका लागि जापान भ्रमणमा रहेकी भरतपुर महानगरपालिका नगर प्रमुख दाहालले मञ्चले गरेको बिदाई तथा सम्मान कार्यक्रममा नगरको विकासका लागि भ्रमण उपलब्धिपूर्ण र सफल रहेको बताइन् ।

अन्तरक्रियामा सहभागी हुँदै माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य अर्जुन पाठकले प्रवासमा रहेरपनि वर्ग र विचारधारालाई आत्मसात् गर्न सक्रियतापूर्वक लागेकोमा खुशी व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्नेहरूले जापानमा सिकेको अनुभवलाई भरतपुरसहित माओवादीले नेतृत्व गरेका पालिकाहरूमा अनुसरण गरि सेवा प्रदानमा सहज प्राणालीको बिकास र भैतिक विकासमा जापानले अबलम्वन गरेको नीतिलाई पछ्याउनका लागि आग्रह गरेका थिए ।

कार्यक्रमको अध्यक्षता गरेका मञ्चका अध्यक्ष भवानी पन्तले माओवादीले नेतृत्व गरेका पालिकामा जनतालाई दिने डेलिभरी प्रभावकारी र जनमुखी बनाउन रेणु दाहालले नेतृत्व गर्नुपर्ने बताए ।
महासचिव बाबुराम पौडेलले कार्यक्रम संचालन गर्दै नेतृत्व तहबाट हरेक कार्य गर्दा संघ संगठनको भावनालाई कदर गरि समन्वयात्मक रूपमा गर्न सुझाव दिए ।
कार्यक्रममा प्रवास समन्वय समितिका सदस्य डा भूपालमान श्रेष्ठ, लेखा तथा अनुगमन आयोगका संयोजक कालिका थापा सल्लाहकार संयोजक हवालचन्द्र लामा मञ्चका केन्द्रीय समितिका पदाधिकारी कान्तो क्षेत्रीय समितिका पदाधिकारी र समर्थक तथा शुभचिन्तकको बाक्लो उपस्थिति रहेको थियो ।
कानागावा प्रिफेक्चरको योकोसुका सिटी र भरतपुर महानगर पालिकाबीच भगिनी सम्बन्ध स्थापना भएकोले यसको निरन्तरताका लागि दाहाललाई जापान भ्रमणमा आउन चितवनबासी हाल जापानमा कार्यरत लोकनाथ वस्ती र ओम गुरुङले संयोजनकारी भूमिका निर्वाह गरेका थिए ।
जापान भ्रमणका क्रममा नगर प्रमुख दाहालसहितको भ्रमण दलले नगरपालिकाको अवलोकन भ्रमणमा नगरको काम गर्ने तरिका बारे जानकारी तथा अबलोकन, शुद्धपानीको ब्यबस्थापन, निशान कम्पनी, फोहर ब्यबस्थापन, नगर हरियाली ब्यबस्थापन, कृर्षी फार्मको अध्ययन तथा अबलोकन गरेको थियो ।
दाहालसहितको भ्रमण दल सोमबार नै स्वदेश फिर्ता भैसकेको छ ।