
चितवन : कुखुरा ओसारपसार गर्ने सवारीसाधनबाट इच्छाकामना गाउँपालिकामा अनावश्यक शुल्क असुल गरिएको भन्दै व्यवसायीले विरोध गरेका छन् । चितवन नवलपुर दाना वितरक संघद्वारा आज चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेललाई पत्र बुझाउँदै गैर कानुनीरुपमा कर असुली भइरहेको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
प्रजिअ पौडेललाई पत्र बुझाउँदै संघका अध्यक्ष तेजनारायण पाण्डेले स्थानीय स्वायत्त शासन ऐन तथा नियमावली विपरीत इच्छाकामना गाउँपालिकामा ठेकदारले कर असुल गरेको बताउनुभयो । उहाँले चितवन हुँदै अन्यत्र लगिने कुखुरा ओसार पसार गर्ने सवारी साधानहरुलाई भरतपुर महानगर पालिका र इच्छाकामना गाउँपालिकाको सिमानामा रोकी अवैध रुपमा निकासी करका नाममा रकम असुली गर्ने, चालक तथा सहचालकहरुलाई गाउँपालिकाका अध्यक्षको नाम लिँदै धम्की दिने, दुव्र्यवहार गर्ने कृयाकलाप भएको बताउनुभयो । पत्रमा अगाडि लेखिएको छ, “कानुन विपरीत कार्य गर्ने ठेकदार र त्यहाँ कार्यरत कर्मचारीहरुलाई पक्राउ गरी आवश्यक कार्बाही गर्ने व्यवस्था मिलाई दिनुहुन र हालसम्म लिएको रकम फिर्ता गर्ने व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछौँ ।”
सङ्घले बुझाएको पत्रसँगै अवैधरुपमा असुल गरिएको करको फोटोकपी समेत प्रमुख जिल्ला अधिकारीलाई बुझाएको पाण्डेले बताउनुभयो । देशको अर्थतन्त्र धरासायी भएर पोल्ट्री व्यवसायीले दाना पनि खुवाउन नसक्ने अवस्था आएको भन्दै पाण्डेले इच्छाकामना गाउँपालिकामा ठेकेदारले चालक र सहचालकलाई धम्काउँदै जबरजस्ती पैसा असुलेका कारण प्रजिअको ध्यानाकर्षण गरिएको बताउनुभयो । ठेकेदारले दोपाया तथा कुखुरा भनेर शुल्क असुल गरेको भन्दै कसैसँगै रु तीन सय, कसैसँग रु चार सय, कसैसँगै रु नौ सयसम्मको रसिद काट्ने गरेका पाण्डेको भनाइ छ ।
व्यवसायीको पत्र बुझ्दै चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले स्थानीय स्वायत्त शासन ऐन अन्तर्गत यसरी कर संकलन गर्न पाइने हो वा होइन भन्ने विषयमा इच्छाकामना गाउँपालिकासँग समन्वय गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सम्बन्धित पक्षसँग तुरुन्तै समन्वय गरेर कानुन वमोजिम हुने व्यवस्था मिलाउन हामी तत्कालै प्रयासरत रहन्छौँ ।” स्थानीय स्वायत्त शासन ऐनमा कृषि उपज उत्पादन भएको पालिकामा बाहेक अन्य पालिकाले त्यस्ता कृषिजन्य वस्तुमा कर असुल गर्न नपाउने व्यवस्था रहेको छ ।