Namastebihani
images

कोभिडपछि तङ्ग्रिँदै सौराहाको पर्यटन

  • १८ आश्विन २०७९, मंगलवार ०९:०३

चितवन : नेपालकै तेस्रो पर्यटकीय गन्तव्यकोरुपमा रहेको चितवनको सौराहामा कोभिडले सिथिल पारेको पर्यटन व्यवसाय पुनः जुर्मुराउने तयारीमा छ । लामो समयदेखि कोभिड–१९ को मारमा परेका पर्यटन व्यवसायी पर्यटकको आगमनले उत्साहित भएका छन् ।
पछिल्लो समय आन्तरिक पर्यटकसँगै फाट्टफुट्ट विदेशी पर्यटकसमेत आउन थालेकाले यहाँको पर्यटनमा उत्साह थपिएको क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराई बताउँछन् । कोरोना भाइरसको महामारीसँगै कोमामा पुगेको सौराहाको पर्यटन व्यवसाय केही समययता तङ्ग्रिन थालेको भट्टराईले बताए । विगतमा विदेशीले भरिभराउ बन्ने होटल, पव, रेष्टुरेन्टहरुमा अचेल आन्तरिक पर्यटकहरु झुम्न थालेका उनको भनाइ छ ।
चाडपर्व नजिकिएसँगै आन्तरिक तथा बाह्य पर्यटकले सौराहाका होटलबारे सोध्न थालेका र पर्यटकहरु आउन सुरु भएकाले व्यवसायीहरु उत्साही देखिएको अध्यक्ष भट्टराईले बताए । ‘कोरोना महामारीले चितवनको मात्रै होइन नेपालकै पर्यटन क्षेत्र प्रभावित बन्यो’ उनले भने, ‘करिब दुई वर्ष हामीले होटलहरु तालाबन्दी गरेर बस्नु पर्ने अवस्था आयो अब अहिले विस्तारै होटलहरु सञ्चालन गर्दै आएका छौँ ।’ अहिले सौराहाका होटलहरु पूर्णरुपमा सञ्चालनमा आएका भन्दै उनले यद्यपि विदेशी पर्यटक खासै नदेखिएका बताए ।
पर्यटकको आगमन बढ्न थालेपछि देशमा चुनाव भएकाले पनि त्यसको असर र बर्खाका कारणले घटेका पर्यटकहरु फेरि थपिन सुरु भएका उनको भनाइ छ । ‘अब हामीले पर्यटन क्षेत्रमा विस्तारै लय समात्न सुरु गरेका छौँ’ उनले भने, ‘अहिलेसम्म चहलपहल खासै नबढेको भए पनि अब चाडपर्व सुरु भयो पर्यटक बढ्छन् भनेर हामी ढुक्क छौँ, विस्तारै आन्तरिक र बाह्य पर्यटकहरुको चहल पहल पनि बढ्न थालेको छ ।’ सौराहामा कोभिडको बेला सुरु भएको छुटको अभियान अहिले पनि होटलको स्तर हेरेर ३० देखि ४० प्रतिशतसम्म रहेको भट्टराईले जानकारी दिए ।
सौराहामा शुक्रबार र शनिबार आन्तरिक पर्यटक आउने तथा अन्य दिनमा गोष्ठीलगायतका कार्यक्रम हुन थालेका सपना भिलेज लजका सञ्चालक ध्रुव गिरी बताउँछन् । ‘अहिले पछिल्लो समय नेपाली युवाहरु आउने गरेका छन्’ गिरीले भने, ‘विदेशबाट समेत होटलको बारेमा बुझ्ने र कोठाहरु बुकिङ गर्न सुरु भइसकेको छ ।’ पछिल्ला दिनमा पर्यटक आगमन उत्साहजनक रुपमा वृद्धि भइरहेको गिरीको भनाइ छ ।
यहाँ आउने अधिकांश पर्यटक जंगल सफारी गर्न रुचाउँछन् । सौराहा आउने विदेशी पर्यटकहरु जंगल सफारी तथा जीप सफारीमा रमाउने भए पनि नेपाली पर्यटकहरु भने खाने पिउने गरी आउने हुनाले आन्तरिक पर्यटकले बढी खर्च गर्ने देखिएको छ । ‘कोभिड पछाडि हामीले होटल खोल्यौँ त्यसपछि नेपाली पर्यटकहरु धेरै आउनुभएको छ’ गिरीले भने, ‘विशेष गरी अहिले गुड फ्राइडे भन्ने प्रचलनत सुरु भएको छ, त्यसैले पनि शुक्रबार र शनिबार सौराहामा राम्रै नेपाली पर्यटकहरु आउने गरेका छन् ।’
सौराहामा गुड फ्राइडे भनेर आउनेमध्ये बढीमात्रामा युवाहरु भएका गिरीले बताए । ‘किशोरावस्थाका आन्तरिक पर्यटकहरु नेचरमा रमाउन भन्दा गुड फ्राइडे भनेर खाने, रमाउने, पिउने, इन्जोए गर्ने भन्ने हिसाबले बढी खर्च गर्ने गरेको देखिएको छ’ गिरीले भने, ‘यहाँ आउने विदेशीहरु भने जंगल ड्राइभ, जीप सफारी रमाउने गरेकामा नेपालीहरु भने फ्राइडेको दिनमा होलीडे मनाउन आएको भन्दै अलिकति बढी खर्च गर्ने गरेको हामीले पाएका छौँ ।’ निकुञ्जभित्रको जंगल सफारी बन्द रहे पनि सामुदायिक वनमा जीप सफारी र अन्य गतिविधि भइरहेका छन् ।
निकुञ्जमा दुर्लभ एकसिंगे गैँडा, बाघ, घडियाल गोहीलगायत वन्यजन्तु, वनस्पति, चरा, पुतली अवलोकन गर्नको संख्या पनि उत्तिकै छ । निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनमा पर्यटकले हात्ती, जीप, पैदल सफारी गर्नका लागि समेत आकर्षित हुने गरेका छन् ।