
चितवनः जिल्लाका ठूला अस्पतालका मुटुरोग विशेषज्ञहरुले एउटै मञ्चबाट उच्च रक्तचाप, मधुमेह, तनाव, मदिरा, सूर्तीजन्य पदार्थ, मोटोपन जस्ता कारणले दिनानुदिन मुटुरोगीको संख्या बढ्दै गएको बताउनु भएको छ । मुटुरोगको उपचार गर्ने चिकित्सकहरुको संस्था नेशनल हर्ट एण्ड लङ्ग सोसाईटी नेपाल र कान्तिपुर हेल्थले आज यहाँ आयोजना गरेको चिकित्सक–पत्रकार अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँहरुले आम नागरिकमा रोगबाट बच्नका लागि आवश्यक जनचेतना जगाउन नसकिएकोमा चिन्ता व्यक्त गर्नुभएको हो ।
कार्यक्रममा भरतपुर अस्पतालका मुटुरोग विशेषज्ञ डा. मणिप्रसाद गौतमले मुटु रोग तनाव, मधुमेह, धुम्रपान, व्यायामको अभाव, मदिरा, सूर्तीजन्य पदार्थको बढी उपभोगका कारण हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो “नेपालमा २८ देखि ३० प्रतिशत धुम्रपान गर्दछन् त्यो भन्दा बढी सूर्ती खाने गर्दछन् ।” ७२.८ प्रतिशत नेपालीले वर्षदिनमा एक पटक मदिरा सेवन गर्ने गरेको अध्ययनले देखाएको भन्दै उहाँले ४८.८ प्रतिशतले नियमित मदिरा सेवन गर्ने गरेको जानकारी दिनुभयो ।
१५ वर्षदेखि ६९ वर्ष उमेरसम्मका समूहमा सन् २०१९ मा गरिएको सर्वेक्षणले यो तथ्य दिएको भन्दै उहाँले समयमा नियन्त्रण गर्न नसकेमा भविष्यमा समस्या जटिल बन्दै जाने बताउनुभयो । ९.१ प्रतिशत नेपालमा मधुमेह रहेको भन्दै उहाँले थप १० प्रतिशत मधुमेहको जोखिममा रहेको बताउनुभयो । उहाँले भन्नुभयो “मधुमेहका बिरामीलाई मुटु रोग हुने उच्च सम्भावना हुन्छ ।”
विश्वका १७ प्रतिशत मधुमेयी भारतमा रहेको चर्चा गर्दै नेपाल र भारतको खानपान र जीवनशैली एउटै खालको भएकाले नेपाल पनि उच्च जोखिममा रहेको डा. गौतमले बताउनुभयो । मुटुरोगको लागि बलियो कारक उच्च रक्तचाप बन्दै गएको उहाँको भनाई छ । उहाँले थप्नुभयो “वयस्कहरुमा २४.५ प्रतिशत उच्च रक्तचाप रहेको छ ।”
नेपालमा मोटोपन र मोटोपन नभए पनि पेट ठूलो हुने हुँदा यो मुटुरोगका लागि जोखिम हुने चिकित्सकहरुले बताउनु भएको थियो । सो अवसरमा चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीले खानपान र जीवनशैलीमा आएको परिवर्तनले मुटुरोगको समस्या बढ्दै गएको बताउनुभयो । समयमा उपचार गर्न सकेमा जीवन बचाउन सकिने भन्दै उहाँले भन्नुभयो “विश्वस्तर र काठमाण्डौंमा रहेका मुटुरोगमा उपयोग हुने प्रविधि अहिले चितवनमा नै छ ।”
काठमाण्डौंको गंगालाल हृदयरोग केन्द्रमा १० वर्ष अनुभव हाँसिल गरेर विगत १० वर्षदेखि चितवनमा उपचारमा सक्रिय डा. रेग्मीले उपचारका सबै सुविधा यहाँ भए पनि आम नागरिकलाई विश्वास दिलाउन अझै नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो “काठमाण्डौंका सरकारी अस्पतालको शुल्क र यहाँका निजी अस्पतालको शुल्क एउटै छ, प्रविधि उही छ, तर मोफसलको मानसिकताले बिरामी यहाँ उपचार गराउन हिच्किचाउँछन् ।”
हृदयघात भएका बिरामीलाई ३० देखि ९० मिनेटभित्र भल्वहरु खोल्नु पर्ने भन्दै उहाँले यहाँ आधा घण्टाभित्रमा नसा खोल्न सकिने बताउनुभयो । मुटुको उपचारको सेवा राजधानी बाहिर शुरु गरेसँगै धेरैको जीवन बचेको छ । डा.रेग्मीका अनुसार कृत्रिम मुटु प्रत्यारोपण जस्ता प्रविधि विकास भएको भए पनि नेपालमा त्यो आईनसकेको बताउनुभयो ।
चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा. शंकर लौडारीले मृत्यु भएका चार जना नेपाली मध्ये एक जनाको कारक मुटुरोग हुने गरेको भन्दै खानामा चिल्लो र गुलियो वस्तु घटाउन आग्रह गर्नुभयो । पछिल्लो समय प्रदुषण पनि मुटुरोगको कारण बन्ने गरेको चर्चा गर्दै डा. लौडारीले भन्नुभयो “हावा प्रदुषणले २५ देखि २७ प्रतिशत मुटुका रोगहरु निम्ताउँछन् ।” प्रदुषणले मुटुदेखि क्यान्सरसम्मका रोग निम्त्याउने उहाँको भनाई थियो ।
तनाव मुटुरोगको अर्काे कारण रहेको भन्दै उहाँले तनाव व्यवस्थापनमा लाग्न सुझाव दिनुभयो । जनचेतना जागृत गराउन विश्वभर मुटु दिवस मनाउने गरेको भन्दै उहाँले सबै मिलेर जनचेतना जगाउनु पर्नेमा जोड दिनुभयो ।
नारायणी सामुदायिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. सुधीर रेग्मीले छाती दुख्नु, रिंगटा लाग्नु, बेहोस् हुनु जस्ता मुटुरोगका लक्षण भएको बताउनुभयो । छाती दुख्यो भनेर आउनेहरुको मोटोपन, तनाव, पेशा आदि बुझेर मुटुरोगको शंका लागेमा थप परीक्षण गरिने भन्दै उहाँले भन्नुभयो “मुटुरोगको शंका लागेमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ ।” मुटुरोगको आशंकामा आउने बिरामीलाई गरिने उपचार पद्धतिका बारेमा बताउँदै उहाँले मुटु रोगको आशंका लागेमा हेलचक्र्याई गर्न नहुने बताउनुभयो ।
मुटुरोग जन्मजात पनि हुने भन्दै उहाँले ४० वर्षपछि मुटुरोग हुने जोखिम बढ्दै जाने बताउनुभयो । सरकारले मुटुरोगका बिरामीलाई गर्ने सहयोग अपुग भएको भन्दै उपचारमा निःशुल्क गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “कम्तीमा मुटु रोगको आकस्मिक बिरामीलाई चाहिने औषधि र उपकरण निःशुल्क गर्नुपर्छ ।”
कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पतालका मुटुरोग विशेषज्ञ डा.मनोज श्रेष्ठले वंशाणुगत बाहेका मुटुरोगबाट बच्न सकिने बताउनुभयो । उहाँले नेपालमा खानपान मुख्य समस्या रहेको भन्दै रातो मासु, चिल्लोयुक्त खाना, तेलमा भुटेको तारेका तयारी खानाहरु खान नहुने बताउनुभयो । उहाँले भन्नुभयो “खानामा फलफलू र तरकारीको मात्रा बढाउनु पर्छ ।” शारीरिक व्यायाम गर्न सुझाव दिंदै उहाँले हप्तामा पाँचदेखि ६ दिन २० देखि ३० मिनेट हिड्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो “१० मिनेट जति दौडिदा मुटुलाई धेरै राम्रो हुन्छ ।” उचाईको आधारमा तौल हुनु पर्ने भन्दै उहाँले धुम्रपान र मध्यपानबाट बच्नु पर्ने बताउनुभयो ।
जिल्लामा मुटुरोग उपचारका लागि अत्याधुनिक उपकरणसहितका क्याथल्याब सञ्चालनमा छन् । यससँगै मुटुको शल्यक्रिया गरेर यही उपचार हुँदै आएको छ । उपस्थित चिकित्सकहरुले मोफसलमा रहेर मुटुको राम्रो उपचारगर्न सकेकोमा खुशी व्यक्त गर्नुभएको थियो ।