
बागमती : चाडपर्वका समयमा सर्वसाधारण यात्रुको सहजताका लागि बागमती प्रदेश प्रहरी कार्यालयले प्रदेशको १० जिल्लामा ५२ वटा नागरिक यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
प्रदेश अन्तर्गतका व्यस्त बसपार्क, यात्रुको भिडभाड र आवतजावत हुने स्थानहरुमा ट्राफिक प्रहरी सहितको सहायता कक्ष स्थापना गरिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले जानकारी दिए ।
उनका अनुसार मकवानपुरमा ८, चितवनमा ४, धादिङमा ६, नुवाकोटमा ६, रसुवामा ६, काभ्रेमा ९, सिन्धुपाल्चोकमा ५, दोलखामा १, रामेछाप २ र सिन्धुलीमा ५ गरी जम्मा ५२ वटा यात्रु सहायता कक्ष संचालनमा ल्याइएको छ ।
यात्रु सहायता कक्षमा ट्राफिक तथा महिला प्रहरी सहित १ सिफ्टमा १५६ जना प्रहरी हुने गरी २४ अैं घण्टा प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यात्रा गर्दा आफुलाई कुनै समस्या पर्न गएमा तत्काल यात्रु सहायता कक्षमा सम्पर्क राख्न र आफ्नो समस्या समाधान गर्न प्रहरीले अनुरोध गरेको छ ।