Namastebihani
images

नारायणगढ–बुटवल सडकको ठेकेदारलाई अन्तिम चेतावनी

  • ११ आश्विन २०७९, मंगलवार १०:०३

चितवन : नारायणगढ–बुटवल सडक विस्तारको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनीलाई सरकारले अन्तिम चेतावनी दिएको छ । सडक विस्तारमा चरम ढिलासुस्ती गरेपछि ठेकेदारलाई एक महिनाको चेतावनी दिइएको हो । एक महिनाभित्र सडक विस्तारको काम सन्तोषजनक नभए ठेक्का तोडिने नारायणगढ–बुटवल सडक योजना कार्यालयले जनाएको छ ।

कार्यालयले आइतबार एक सार्वजनिक सूचना जारी गरी एक महिनाभित्र काममा अपेक्षाकृत प्रगति नदेखिए सीधै ठेक्का तोडिने जनाएको हो । तोकिएको अन्तिम समयमा पनि काममा कुनै प्रगति नदेखिए ठेक्का तोडिने सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । ठेकेदारले सम्झौता अनुसारको न्युनतम शर्त पनि पालना नगरेको बताउँदै उनले दशैँका लागि बाटो सहज बनाउन निर्देशन दिइएपनि त्यसअनुसार काम नभएको बताए ।

आगामी कात्तिक ९ सम्मलाई समय दिइएको हो । ठेक्का सम्झौता सकिँदा निर्माणको भौतिक प्रगति १८।४४ प्रतिशत मात्र छ । यसको ठेक्का आर्थिक वर्ष ०७५/७६ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो । यसअनुसार निर्माणको काम ०७९ साउन २२ भित्र सकिसक्नुपर्ने हो । तर म्याद सकिँदा प्रगति २० प्रतिशत कट्न सकेको छैन । सडक भत्काएर अलपत्र पारिएपछि यात्रुले आवतजावतमा सास्ती खेप्नुपरेको छ ।