
काठमाडौँ : बलात्कारका आरोपी क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले डिफ्युजन नोटिस जारी गरेको छ। नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले नोटिस जारी गरेको प्रहरी प्रवक्ता टेकप्रसाद राईले बताए।
कुनै पनि व्यक्तिविरुद्ध जाहरी दर्ता भइसकेको तर फैसला नभइसकेको हकमा डिफ्युजन नोटिस जारी गरिन्छ। डिफ्युजन नोटिस जारी भइसकेपछि इन्टरपोलमा आवद्ध देशका प्रहरीले फेला पारेमा नेपाल प्रहरीलाई खबर गर्नेछन्।
अभियुक्तको अवस्था र मुद्दाको अवस्था हेरेर त्यस्ता व्यक्तिलाई नेपाल पठाइदिने वा नेपाल प्रहरी नै सम्बन्धित देशमा पुगेर नेपाल ल्याउने गरिन्छ। यसअघि न्यायाधीश रणबहादुर बमका हत्यारालाई पनि नेपाल प्रहरीले साउदीबाट ल्याएका थियो। त्यतिबेला पनि डिफ्यजन नोटिस जारी गरिएको थियो।
तर अदालतले दोषि ठहर गरेका र फैसला कार्यन्वयनका लागि ल्याउनु परेमा भने रेड नोटिस जारी गरिन्छ। इन्टरपोलमा १९५ देश आवद्ध छन्। इन्टरपोलबाट कुनै पनि नोटिस जारी भएका अभियुक्तमाथि ती देशका प्रहरीले निगरानी गर्नेछन्।
कुनै पनि नोटिस जारी गर्नु पहिले इन्टरपोलले सम्बन्धित व्यक्तिविरुद्ध नोटिस जारी गर्नुपर्ने आधार र कारणसमेत माग गर्छ। आरोपबारे केही प्रमाण पेश गरिसकेपछि मात्रै इन्टरपोलले नोटिस जारी गर्छ।
सन्दीपविरुद्ध एक नाबालिगले भदौ २१ गते प्रहरीमा जाहेरी दिएकी थिइन्। त्यसको तीन दिनपछि नेपाल क्रिकेट संघ क्यानले उनलाई निलम्बन गरेको थियो। निलम्बनमा परेसँगै क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ष्टइन्डिज पुगेका लामिछानेको सम्झौता रद्ध भएको थियो।
सम्झौता रद्ध भएसँगै उनले आफू चाँडै नेपाल फर्किने र आफूमाथि लागेको आरोपको कानुनी प्रतिवाद गर्ने प्रतिक्रिया दिएका थिए। तर त्यसपछि लामो समय सम्पर्कविहीन भएका लामिछानेले आइतबार साँझ मात्रै सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू अस्वस्थ रहेको र चाँडै नेपाल फर्किने बताएका थिए।
तर यसअघि पनि छिट्टै नेपाल फर्किने बताएर सम्पर्कविहीन भएका लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी भएको हो। यससँगै अब लामिछानेलाई पक्राउ गर्न इन्टरपोलमा आवद्ध देशका प्रहरीले पनि सहयोग गर्नेछन्।