
चितवन : बडादशैं २०७९ को अवसरमा चितवनको खैरहनी ४ मा रहेको कंकाली युवा जागरण क्लबले चंगाचेट फेस्टिवल, खेलकुद तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । क्लबले यहि असोज १८ गते नवमीको दिन विविध खेलकुद कार्यक्रम संगै स्थानिय भेषभुषा र झाँकी सहितको सांस्कृतिक कार्यक्रम गर्ने भएको हो ।
चाडपर्वको समयमा देशविदेशमा रहेका स्थानियहरु पनि गाउँघरमा भेला हुने भएका कारण एकआपसमा सद्भाव र भाईचाराको वृद्धि गर्ने उद्देश्यले क्लबले मनोरन्जनात्मक खेलकुद र सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको प्रेसमिट मार्फत आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा चंगाचेट, घैटो फुटाई, टायरमा बल छिराई, बाँसको टुप्पोमा भाले बाँधेर भाले झिक्ने प्रतियोगिता र स्थानिय कलाकारहरुको प्रस्तुति सहितको सांस्कृतिक कार्यक्रम रहनेछ । कार्यक्रमबाट संकलन भएको रकम खैरहनी( कंकाली मन्दिर( सिराईचुली हाईकिंग रुट विस्तार गर्न खर्च गरिने क्लबका अध्यक्ष लोकेन्द्र लामाले जानकारी दिए । कार्यक्रम रत्ननगर र खैरहनीको सिमाना कयरखोलाको फुटबल मैदानमा हुनेछ।