Namastebihani
images

२४ सै घण्टा सुविधा दिने आयो राइड सेयरिङ प्लाटफर्म ‘सवारी’

  • २७ भाद्र २०७९, सोमबार १९:००

चितवन : देशकै मधय भाग चितवनमा पहिलो पटक राइड सेयरिङ प्लाटफर्म ‘सवारी’ सेवा सुरु गरेको छ । अनलाईन एपको मार्फत चितवनको भरतपुरबाट यो सेवा सुरु गरेको राइड सेयरिङ एप सवारीले सोमबार नारायणगढमा पत्रकार सम्मेलन गर्दै जानकारी दियो ।

सवारी चालकले आफूलाई सवारीमा दर्ता गर्न र सेवाग्राहीले सेवा लिन सवारी एप मोबाइलमा डाउनलोड गर्नुपर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेरबहादुर शाहले बताए ।  ‘काठमाडौँ, पोखरा, बुटवल र भैरहवापछि चितवनमा सेवा सुरु गरेका छौँ’ उनले भने ।

सवारीले कम्पनी दर्ता गरेर सेवा सुरु गरेको यसका सहसंस्थापक रोहित यादव बताउँछन् । ‘नेपालमा अझै पनि राइड सेयरिङबारे कानुन बनिसकेको छैन’ उनले भने, ‘हामीले कम्पनी ऐन अन्तर्गत कम्पनी दर्ता गरेर सवारी सुरु गरेका हौँ । यातायात व्यवस्था विभागबाट पनि अनुमति लिएका छौँ ।’ सवारीबारे स्थानीय तहका सरकारी कार्यालयमा जानकारी गराइएको उनले बताए ।

सवारीका चितवन शाखा प्रबन्धक विपीन काफ्लेले चितवनमा भर्खरैमात्र सेवा सुरु गरिएको जानकारी दिए । उनका अनुसार मोबाइलमा एप डाउनलोड गरेपछि सेवाको लागि ट्याक्सी, अटो वा मोटरसाइकल छनौट गरी आफू कहाँदेखि कहाँसम्म जाने हो ? उल्लेख गरेपछि भाडा कति लाग्छ ? भन्ने जानकारी मोबाइलमै आउँछ । सवारीले प्रतिकिलोमिटर भाडादर मोटरसाइकलको २०, अटोरिक्साको ४५ र ट्याक्सीको ५५ रुपैयाँ निर्धारण गरेको उनले बताए ।