
चितवन : प्रधानमन्त्री शेरबहादुर देउवासँग वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई क्यान्सर प्रतिष्ठान बनाउन र पेट स्क्यान सेन्टर स्थापनाको माग गरिएको छ । चितवनमा विभिन्न कार्यक्रममा सहभागि हुन आज बिहान चितवन आएका प्रधानमन्त्री देउवालाई क्यान्सर अस्पतालमा स्वागत गर्दै यस्तो माग अस्पतालले गरेको हो ।
सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले अस्पतालमा क्यान्सर प्रतिष्ठान बनाउन र पेट स्क्यान सेन्टर स्थापना गर्न माग गरे ।
उनले क्यान्सर उपचारमा आवश्यक जनशक्ति उत्पादन गर्न स्नातकोत्तरसम्मको अध्ययन अध्यापनका लागि क्यान्सर प्रतिष्ठान वा क्यान्सर इन्स्टिच्यूट बनाउन माग गरेका हुन् ।
त्यसैगरी क्यान्सर रोग पहिचान र बिरामीको अवस्थाबारे जानकारी लिन महत्वपूर्ण मानिने पेट स्क्यान मेसिन अस्पतालमा अति आवश्यक रहेकोले त्यसका लागि समेत पहल गरिदिन उनले माग गरे । प्रधानमन्त्री देउवा अस्पतालका मागप्रति सकारात्मक रहेको अस्पतालका निर्देशक गौतमले जानकारी दिए ।