Namastebihani
images

सेन्चुरी बैंकमा पैसा सुरक्षित रहेन, बैँकबाटै ३३ हजार गायब !

  • २४ भाद्र २०७९, शुक्रबार ०९:०३

वीरगञ्ज (पर्सा) : वीरगञ्जको आदर्शनगरस्थित रहेको सेन्चुरी बैंकको खाता ह्याक गरी खाताबाट पैसा अनलाइन ट्रान्जेसक्न भएको पाइएको छ । संघीय राजधानी काठमाडौंमा चाइनाका ह्याकरहरुले बैंक, एटीएम ह्याक गरेका घटनाहरु सार्वजनिक भइरहेको अवस्थामा वीरगञ्जको बैंकबाट पनि बैंकको खाता ह्याक गरेर पैसा निकाल्ने सञ्जाल देखिएका हुन् ।

ह्याकरले काठमाडौंलगायत अन्य स्थानमा बसेर वीरगञ्जको बैंकको खाता ह्याक गरेर आफूसँग जोडिएका व्यक्तिहरुको खातामा अनलाइन रकम ट्रान्जेक्सन गरि निकाल्न लगाएको घटना सार्वजनिक भएको हो । पुजन होटल छेउमै रहेको सेन्चुरी बैंकको खाताबाट ह्याकरले बुधबार दिउँसो १२ः१७ बजेको समयमा रु ३३ हजार रुपैया ह्याक गरेका छन् । वीरगंज महानगरपालिका–३० निवासी हरेराम प्रसाद गुप्ताको उक्त बैंकमा रहेको खाताबाट ह्याकरले ३३ हजार रुपैया खल्तीमा अनलाइन ट्रान्जेक्सन गरि पुनः सानिमा बैंकमा रकम पठाई निकाल्न लगाएको पाइएको हो ।

ह्याकरले गुप्ताको खाताबाट विकास थिङको नाममा रहेको ९८२१३६६२७३ नम्बरको खल्तीमा बुधबार दिउँसो १२ः१७ को समयमा अनलाइन ट्रान्जेक्सन गरेको बैंकबाट प्राप्त तथ्याँकले देखाएको छ ।

त्यस पश्चात वीरगञ्जस्थित सानिमा बैंक लिमिटेडमा अमित गौरोको नाममा रहेको ०२१०११०१००००८८६ खातामा त्यही रकम ट्रान्सफर गरि सानिमा बैंकबाट पैसा निकालेको पाइएको छ । ह्याकर रविन विष्ट भन्ने व्यक्तिले खाताधनी गुप्ताको खाता ह्याक गरि विकास थिङको खल्तीको खातामा रकम अनलाइन ट्रान्जेक्सन गरेका छन् भने विकास थिङले पर्सा जिल्ला बेलवा निवासी अमित गौरोको सानिमा बैंकको खातामा रकम अनलाइन ट्रान्जेसक्न गरेको पाइएको हो ।

त्यस पश्चात अमित गौरोले पैसा ३२ हजार ९ सय रुपैया आफ्नो खाताबाट दिउँसोको १२ः१६ बजे झिकेको पाइएको हो । समग्रमा भन्नुपर्दा यि तिनैजनाको सञ्जाल देखिएको छ । एक मिनेट समयको अन्तरालमा यिनीहरुले ३३ हजार रुपैया ह्याक गरि निकाल्न सफल भएको बैंकबाट प्राप्त तथ्याँकले नै देखाएको छ ।

सरकारले सम्पूर्ण आर्थिक कारोबार बैंक मार्फत गर्नुपर्छ, आफुसँग भएको पैसा पनि सुरक्षित तरिकाले बैंकमा राख्नुपर्छ भनेर प्रावधान नै ल्याएको छ, तर यसरी खाताधनीको जानकारी विना नै खाताबाट रकम झिकिएपछि अब बैंकमा पनि पैसा सुरक्षित नरहेको चिन्ता बढ्न थालेको छ । यो घटना पश्चात गुप्ताले सेन्चुरी बैंक र कुमारी बैंकमा रहेको आफ्नो खाता बन्द समेत गराएका छन् ।

घटना पश्चात खाताधनी गुप्ताले जिल्ला प्रहरी कार्यालय पर्सामा अमित गौरो विरुद्ध किटानी जाहेरी समेत दिएका छन् । गौरो पर्सा जिल्ला तत्कालीन बेलवा गाविस निवासी व्यक्ति रहेको बैंकबाट जानकारी प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले सानिमा बंैकमा रहेको अमित गौरोको खाता विवरण झिकाउन पत्र काटेको छ । यस्तो घटना भएपनि सेन्चुरी बैंक बेखर भएको जस्तो व्यवहार गरि रहेको खाताधनीको आरोप छ ।

हालसम्म खाताधनीको पैसा पनि फिर्ता भएको छैन । घटनालाई छानविन खाताधनीले दबाब दिदा पनि बैंकले वेवास्ता गरेको खाताधनीको आरोप छ । घटना भएको २४ घण्टा वितिसक्दा पनि पैसा कसले झिक्यो भन्ने सेन्चुरी बैंकका वीरगंज शाखा प्रमुख शिवनाथ साहले यो घटनाप्रति बैंक कुनै जवाफदेही नरहेको गैर जिम्मेवारीपूर्ण जवाफ दिएको खाताधनीको आरोप छ ।

खाताधनीको अथोराइज विना पैसा अनलाइन ट्रान्जेक्सन हुन नसक्ने भएकोले यस विषयमा बैंकले केही गर्न नसकिने जवाफ दिएको खाताधनी गुप्ताको भनाइ छ ।