
चितवन : भोलि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आउँदैछन् । नेपाली कांग्रेसले मंसिर ४ को चुनाव लक्षित सुरू गरेको ‘जनताको साथमा कांग्रेस अभियान’को पहिलो चरणको कार्यक्रम समापन गर्न पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा चितवन आउन लागेको कांग्रेस चितवनले जनाएको छ । भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने कार्यक्रममा दिउँसो करिब १२ बजे देउवा आउने कार्यक्रम रहेको बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।
कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार मंसिर ४ गते हुने दुई तहको निर्वाचनमा जनतालाई कांग्रेस पार्टीको विषयमा बुझाउने उद्देश्यस्वरूप भदौ १० गतेदेखि अभियान थालेको थियो । २४ गते उक्त अभियानअन्तर्गत पहिलो चरणको कार्यक्रम सकिएपछि दोस्रो चरणको कार्यक्रम सुरू गरिने पार्टी सभापति खनालले जानकारी दिए । पहिलो चरणको कार्यक्रममा पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश सभा कार्यसमिति, पालिका कार्यसमिति र वडा सभापतिबीच वृहत् कार्यक्रम गरिएको उनले बताए ।
यस्तै जिल्लाका सबै वडाका पार्टी सभापति निर्वाचित, वडा अध्यक्ष, पालिका प्रमुख तथा उप–प्रमुखहरूबीच अन्तरक्रिया, जिल्ला कार्यसमिति र क्षेत्रीय कार्यसमितिको संयोजनमा जिल्लाका ९८ वटै वडामा प्रतिनिधि खटाई वडाको वस्तुस्थितिबारे जानकारी अध्यावधिक गर्ने कार्यको समेत सुरूवात गरिएको उनले बताए ।
उक्त कार्यक्रमको लागि कांग्रेस केन्द्रीय समितिले चितवनमा केन्द्रीय सदस्य श्यामकुमार घिमिरेलाई प्रतिनिधिको रूपमा पठाएको थियो । अभियानका क्रममा चितवनका मतदाता पार्टी र गठबन्धनप्रति सकारात्मक रहेको उनले दाबी गरे । आम मतदाताले सधैँ एउटै पक्षमा मतदान नगर्ने हुँदा आवश्यकता र परिस्थितिअनुसार मतदान गर्ने माहोल चितवनमा देखिएको उनले बताए ।
स्थानीय तह निर्वाचनमा असन्तुष्ट पक्ष जगन्नाथ पौडेलले भुइँकटहर चुनाव चिन्ह लिएर पनि सम्मानजनक मत ल्याएका थिए । सोही प्रसंगलाई प्रष्ट पार्दै नेता घिमिरेले भने, ‘जगन्नाथ जीहरूले पार्टी छोड्नुभएको होइन । किनकि उहाँहरूले हामी कांग्रेस बचाउनको लागि यो हिँडेको भनेर भनिरहनुभएकै छ त । त्यसैले उहाँहरू पार्टीको विधि र विधानअनुसार कारवाहीमा परे पनि उहाँहरू कांग्रेस नै हुनुहुन्छ ।’