
विप्लव काफ्ले, भरतपुर : चेपाङ समुदायले छोनाम (न्वाङगी) पर्व मनाएका छन् । भरतपुरमा चितवन, मकवानपुर, धादिङ लगायतका जिल्लाका चेपाङहरु भेला भएर न्वाङगी मनाएका हुन् । भदौ महिनालाई चेपाङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । यो वर्ष फलेका नयाँ अन्न, फलफुलहरु पितृ तथा देवीदेवतालाई चढाएरमात्रै खाने प्रचलन रहेको छ ।
नेपाल चेपाङ संघका पूर्व केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले पान्देबाट आर्शिवाद लिने र नयाँ अन्न तथा फलफुलहरु चढाएर रमाइलो गरिने बताउनुभयो । घैया धान, मकै, कोदो, पीडालु, कन्दमुल, घिरौला, फर्सि, निमुवा, वामरी लगायतका अन्न तथा फलफुलहरु जम्मा पारेर पान्देले ड्याङग्रो बजाउँदै पुजा गर्ने गर्छन् । पूर्णिमा तिथिलाई आधार मान्दा पर्व मनाउदा एकरुपता नहुने भएरै नेपाल संघले भदौ २२ मै न्वाङगी पर्व मनाउने निर्णय ७ वर्ष पहिले गरेको थियो ।
नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङले बागमती प्रदेश सरकारले न्वाङगी पर्वमा सार्वजनिक विदा दिएकोमा खुशी व्यक्त गर्नुभयो ।
कालिका–८ भोर्लेघारीका रामजीमाया चेपाङले दाजुभाई, आफन्तीहरु मिलेर न्वाङगी फलाक्ने र समूहगत रुपमै पर्व मनाउने प्रचलन रहेको बताउनुभयो । ८ वर्ष देखि पुरोहितको काम गर्दै आउनुभएका भोर्लेघारीकै मानबहादुर चेपाङले नयाँ अन्न तथा फलफुलहरु नचढाई खान नहुने मान्यता रहेको बताउनुभयो । राप्ती–१० कोराकाका मिलन चेपाङले युवा पुस्ताहरु समेत चेपाङ संस्कृति जगेर्ना गर्न सक्रिय बन्नुपर्ने बताउनुहुन्छ । बागमती प्रदेश सरकारले न्वाङगी पर्वको अवसर पारेर आज (बुधबार) चितवन, मकवानपुर र धादिङमा सार्वजनिक विदा दिएको थियो ।
चेपाङ समुदायको उत्थानका लागि प्रतिवद्ध छौँः मुख्यमन्त्री
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले चेपाङ समुदायको उत्थानका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । न्वाङगी पर्वको अवसरमा भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले चेपाङ समुदायमा शिक्षा, सीप विकास गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो । “चेपाङको घनावस्ती रहेका मकवानपुर, चितवन, धादिङका पहाडी क्षेत्रलाई चेपाङ विशेष क्षेत्र घोषणा गरेका छौँ”, उहाँले भन्नुभयो, “विशेष कार्यक्रम पनि ल्याउँछौँ, आर्थिक उन्नतीका कार्यक्रम लागु हुनेछन् ।”
उहाँले एकिकृत वस्ती निर्माणका लागि १० करोड बजेट विनियोजन गरिएको बताउनुभयो । “स्थानीय तहबाट नामावली संकलन गरेर छिटै वस्ती निर्माणको काम सुरु हुनेछ”, उहाँले भन्नुभयो, “खरको छाना उन्मुलन पनि गर्नेछौँ ।” बागमती प्रदेशभित्रका १ सय १९ पालिकाहरुबाट दलित तथा पछाडी परेका समुदायका विद्यार्थीलाई आवासीय सुविधा सहित निःशुल्क प्राविधिक शिक्षा दिएर दक्ष जनशक्ति उत्पादनमा लागेको बताउनुभयो । स्वदेशमै कम्तिमा ५० हजार रुपैयाँ आयआर्जन गर्न सक्ने बनाएर सम्बन्धित पालिकामै पठाइने उहाँको भनाई छ । प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङले चेपाङ समुदायको हकहितका लागि प्रदेश सरकारले उल्लेख्य कामहरु गरेको बताउनुभयो ।