Namastebihani
images

इजी वेमा नक्कली परीक्षार्थीहरुको बिगबिगी, सञ्चालक निर्भयबाबु प्रसाई ‘जोन’ पक्राउ

  • २० भाद्र २०७९, सोमबार २२:३६

भक्तपुर : ट्रायल सेन्टर खरिद बिक्री गरेबापत भएको कारोबारमा चेक बाउन्सको मुद्दामा भक्तपुर राधेराधेस्थित इजि वे ट्रायल सेन्टरका सञ्चालक निर्भयबाबु प्रसाई ‘जोन’ पक्राउ परेका छन् ।

४० लाख चेक बाउन्स गरेको उजुरी परेपछि प्रहरी परिसर भक्तपुरको विशेष टोलीले प्रसाईलाई भक्तपुरबाटै पक्राउ गरेको हो ।  प्रसाईले भ्याली ड्राइभिङ सेन्टर खरिदका क्रममा बुझाउन पर्ने रकम ४० लाख रुपैयाँको चेक बाउन्स भएपछि प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

प्रहरीले पक्राउ परेका जोनलाई अनुसन्धानका लागि म्याद थप गर्न सोमबार भक्तपुर जिल्ला अदालत उपस्थित गराउने तयारी गरेको छ ।  यसबारे विस्तृत जानकारी लिन खोज्दा भक्तपुर प्रहरी परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु पाण्डेले आफू बाहिर भएकोले त्यसबारे थप बताउन नसक्ने  बताए ।

भक्तपुरमा ट्रायल सेन्टरका नाममा विभिन्न गैरकानुनी धन्दा गरेको समेत आरोप लाग्ने गरेका जोनले आफूलाई भक्तपुरकै शक्तिशाली व्यवसायी भन्दै दम्भ देखाउने गरेको बताइन्छ । उच्च पदस्थ कर्मचारी तथा बिभिन्न राजनितिक दलका नेतासँगको सम्बन्धको लाभ लिदै प्रसाईले भक्तपुरमा धाक, धम्की र हुकुमी शासन देखाउने गरेको समेत जोनमाथि आरोप लाग्ने गरेको छ ।

चाप्लुसी र चाकडिको बलमा आर्थिक प्रलोभनमा पारि कर्मचारीतन्त्रबाट समेत फाईदालिई सरकारी मापदण्ड बिपरित राजकुलो समेत मिचेर बनाइएको भौतिक संरचनामा उनले ड्राइभिङ सेन्टर संचालन गर्दै आएको समेत बताइएको छ ।

उनले सञ्चालन गरिरहेको इजी वे ट्रायल सेन्टरले मापदण्डविपरित राजकुलो मिचेर ट्रायल स्थल सञ्चालन गरिरहेको समेत भक्तपुर राधे–राधेका एक स्थानीय बताउँछन् । उनी भन्छन्, ‘त्यो ट्रायल सेन्टरकै माझमा राजकुलो थियो, कसरी त्यहाँ त्यत्रो ट्रायल सेन्टर बनाउन पाइयो ?’

त्यस्तै जोनले ट्रायल सेन्टरको नाममा लाइसेन्स सम्बन्धी अवैध काम गर्दै आइरहेको विषयमा पनि प्रहरीले अनुसन्धान सुरु गर्ने भएको छ । जोनले विदेशमा बस्ने नेपालीलाई लाइसेन्स चाहिएमा बिना परिक्षा र ट्रायलका साथै मान्छे नै उपस्थित नभएमा पनि लाइसेन्स बनाइदिने गरेको समेत स्रोतले जनाएको छ ।

यसअघि जोनको ट्रायल सेन्टरमा विभिन्न नक्कली परिक्षार्थीहरु पनि पक्राउ पर्ने गरेका छन् । अर्कैको नाममा ट्रायल दिलाउनेदेखि लिएर ट्रायलमा आएका व्यक्तिहरुसँग पास गराईदिने नाममा पैसा उठाउने गरेको समेत जनाइएको छ ।

यसअघि सेवाग्राहीसँग दोहोरो शुल्क उठाएको उजुरी परेपछि अख्तियारले समेत छानबिनका लागि प्रदेश ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयलाई लिखित निर्देशन दिएको थियो ।

कानुन बमोजिम ट्रायल सेन्टरमा सेबा लिन पुग्ने सेवाग्राही समेत उनको हुकुमी शैलीबाट आजित हुदै आएको  समेत बताइएको छ ।