Namastebihani
images

नक्कली प्रहरी बनि लुटपाट गर्ने चितवनबाट दुईजना पक्राउ

  • २० भाद्र २०७९, सोमबार ०८:३६

चितवन : चितवनमा प्रहरीको नक्कली कार्ड बनाएर लुटपाट गर्ने दुईजना पक्राउ परेका छन् । कालिका नगरपालिका वडा नम्बर ८ गैरिवारीबाट प्रहरीको नक्कली परिचयपत्र देखाएर लुटपाट गर्ने दुईजना पक्राउ परेका हुन् । शनिबार दिउसो प्रहरीको नक्कली परिचयपत्र देखाएर लुटपाट गर्दै हिडेका रत्ननगर नगरपालिका वडा नम्बर ११ जिरौना बस्ने बर्ष २८ को विशाल पौडेल र सोहि स्थान बस्ने बर्ष ३० को विजय महतलाई प्रहरीले पक्राउ गरेको हो । ना ३६ प ६५२० नम्बरको स्कुटरमा सवार उनीहरुले गैरिवारीमा आईसक्रिम तथा कुल्फि बिक्री गर्ने एक भारतिय नागरिकलाई प्रहरीको नक्कली कार्ड देखाई धाकधम्की देखाएर ५ हजार ४ सय रुपैयाँ लुटेका थिए ।

डाँका गरेर शक्तिखोरतर्फ भागेका उनीहरुलाई प्रहरीले दुईघण्टापछि शक्तिखोरबाट फर्किदै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । उनीहरुको साथबाट प्रहरीले लुटपाट गरेको रकम र नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक विशाल पौडेल लेखिएको कार्ड बरामद गरेको छ । बरामद भएको प्रहरीको परिचयपत्र नक्कली भएको प्रवक्ता अधिकारीले बताए । पक्राउ परेका दुवैजनालाई चोरी तथा डाका मुद्धामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।