
पर्वत : ‘अन्डरग्राउन्ड’ लाई ३५ दिनभित्र ‘पार्किङ’ को रूपमा प्रयोग नगरे व्यवसाय नै हटाइदिने चेतावनी दिएको पोखरा महानगरपालिकाले सार्वजनिक जग्गामा बनेका संरचना र तिनीहरूबाट हुने आम्दानीमा पनि ध्यान दिएको छ।
महानगरपालिकाले आम्दानीको स्रोतका रूपमा महेन्द्रपुलको सार्वजनिक जग्गामा बनेका सटरलाई लिँदै आएको छ। सार्वजनिक जग्गामा महानगरपालिकाले नै सटर बनाएर ती सटरहरूलाई भाडामा लगाइएको हो। महानगरपालिकाले त्यस्तै सटरहरू राष्ट्र बैङ्क चोक, जिल्ला मालपोत कार्यालय कास्कीको अगाडिको भाग लगायतका सार्वजनिक जग्गामा पनि निर्माण गरेको छ।
तर ती सटर भाडामा लिएकाहरूबाट महानगरपालिकाले भाडा नै उठाउन सकिरहेको छैन। महानगरले भाडा तिर्नका लागि ताकेता गर्दै आएको भए पनि ताकेताबाट उम्किने र बेवास्ता गर्ने बानी परेकाहरूले महानगरको आदेशलाई टेर्दैनन्। महानगरपालिकाले खोजी गर्दा सम्पर्कमा नआउने, सम्झौता नवीकरण नै नगरी सटहरूमा निरन्तर बसिरहने लगायतका समस्या भएपछि पोखरा महानगरपालिकाले आफ्नो शक्तिको तारो महेन्द्रपुलमा रहेका सटरहरूमा सोझ्याएको छ।
महानगरपालिकाले गत साउन १९ गते दोस्रो पटक सूचना प्रकाशन गरेर पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा नजिकै आर्ट ग्यालरी र पुस्तकालय भवनमा रहेका सटर कवलमा व्यवसाय सञ्चालन गर्दै आएकाहरूको लागि ३५ दिनभित्रमा व्यवसाय नहटाए कानुन बमोजिम प्रक्रिया अगाडि बढाइने बताएको थियो।
महानगरले जारी गरेको सूचनामा ‘पोखरा महानगरपालिकाको स्वामित्वमा रहेका पोखरा महानगरपालिका वडा नं. ९, महेन्द्रपुल नजिक आर्ट ग्यालरी र पुस्तकालय भवनमा रहेका सटर कवलमा व्यवसाय सञ्चालन गर्न विगतमा सम्झौता गरेका व्यवसायीहरूले कानुन बमोजिम म्याद थप नगरेको, सम्पर्कमा समेत नआएको र पटक–पटक ताकेता गर्दासमेत बहाल बक्यौता भुक्तानी नगरेकाले मुलुकी देवानी संहिता, २०७४ को दफा ४०१ बमोजिम ३५ (पैँतिस) दिने सूचना प्रकाशन गरिएको छ। सूचना प्रकाशित मितिले ३५ दिनभित्र आफैँ सटर कवलबाट व्यवसाय हटाउनुहोला। आफैँ नहटाएमा कानुन बमोजिम भई जाने ब्यहोरा सूचित गरिन्छ।’ भनी लेखिएको छ।
वडाध्यक्ष दीपेन्द्र मर्सानीका अनुसार महेन्द्रपुलका भवनमा व्यापार व्यवसाय गर्नेले भाडा नतिरेको तत्काल भाडा तिर्न र त्यहाँबाट व्यापार हटाउन निर्देशन दिइएको छ। ती भवनमा व्यापार व्यवसाय गर्दै आएका व्यापारी र अन्य प्रयोजनका लागि बसेका सबैलाई त्यहाँबाट हट्न सार्वजनिक सूचना जारी गरिसकिएको र अब भदौको २२ गते ती भवनहरू भत्काउने तयारी गरिएको उनको भनाइ छ।
वडाध्यक्ष मर्सानीले भवनहरू भत्काउने कार्यमा साथ दिन वडावासीलाई आह्वान पनि गरेका छन्। भवन हटाएपछि उक्त स्थलमा सार्वजनिक पार्क र सार्वजनिक शौचालय निर्माण गर्ने योजना रहेको उनको भनाइ छ।
त्यहाँबाट हट्ने पुस्तकालय र ग्यालरीका लागि भने पृथ्वीचोकस्थित ट्राफिक भवन भएको स्थलमा बन्ने भवनमा ठाउँ व्यवस्था गर्ने महानगरको योजना छ।