
जनकपुरधाम : धनुषा प्रहरीले २ बालिकालाई बेचबिखनका लागि भारत लैजान खोज्ने ३ जनालाई पक्राउ गरेको छ
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने २६ वर्षीय रूपेशकुमार मिश्र, वडा नम्बर–२३ लादोवेलाका २३ वर्षीय दिल महमद साह र महोत्तरीको मटिहानी नगरपालिका–२ विल्टाहा टोलकी २० वर्षीया रानी भन्ने मुस्कान मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।
जनकपुरधाम–जयनगर रेलबाट बुधबार उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए।
दुवै बालिकालाई डेराबाट ललाईफकाई इनर्वा रेलवे स्टेसन हुँदै भारतको दिल्लीतर्फ बेचबिखन गर्न लगिरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय खजुरीको प्रहरी टोलीले दुवै बालिकाको उद्धार गरेको र लैजान खोज्ने तीनै जनालाई पक्राउ गरेको डिएसपी क्षेत्रीले बताए।