
नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा ७ विकेटले जितेको छ। २१९ रनको लक्ष्य नेपालले ४७ दशमलव २ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। नेपाललाई जिताउन महत्त्वपूर्ण ११० रनको पाली खेलेका आसिफ म्यान अफ द म्याच भए।
उनले १ सय २० बलमा खेलेर १२ चौका र २ छक्काको सहायतामा ११० रन बनाए। नेपाली टोलीका दुवै ओपनर ब्याट्सम्यानले सशक्त ब्याटिङ गरेपछि नेपालले ३ विकेटको क्षतिमा खेल जितेको हो।
केन्याले पहिले ब्याटिङ गर्दै ४८ दशमलव १ ओभरमा अल आउट भएर २१८ रन बनाएको थियो। नेपालका ओपनर ब्याट्सम्यान अर्जुन साउदले अर्धशतक पूरा गरे। नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा अर्जुनले ७६ बलमा ५२ रन प्रहार गर्दै अर्धशतक पूरा गरे। नेपालको पहिलो विकेट ओपनर अर्जुन साउदका रुपमा खस्यो। उनले आउट हुनुअघि ९७ बलमा ६१ रन बनाए।
२औं ओभरमा कोलिन्स ओबुयाको पहिलो बलमा आउट भए। नेपालको जितमा अर्जुनले ६१ रनको योगदान गरे भने आसिफले १२० बलमा ११० बनाए। यसैगरी अर्जुन आउट भएपछि क्रिजमा आएका ज्ञानेन्द्र मल्लको ५० बलमा २४ रन हिर्काए।
रोहितकुमार पौडेलले नटआउट रहेर ३ रन बनाए। अविजित रहेका अर्का ब्याट्सम्यान दीपेन्द्रसिं ऐरीले ११ बलमा १५ रन हिर्काए। आजको खेलमा रोहितले नेपाली टोलीको कप्तानी गरेका थिए। आजको खेल जितेसँगै नेपालले ३ खेलको एकदिवसीय सिरिजमा १-० को अग्रता लिएको छ। यसअघि नेपालले केन्याविरुद्ध भएको ५ खेलको टी-२० अन्तरराष्ट्रिय शृंखला ३-२ ले हात पारिसकेको छ।
केन्याली बलर भिसिल पटेल, राकिप पटेल र कोलिन्स ओबुया तीनैजनाले १/१ विकेट लिए। त्यसअघि केन्याले राकिप पटेल र कोलिन्स ओबुया अर्धशतकीय इनिङको सहायतामा ४८ ओभर १ बलमा अलआउट हुँदै २१८ रन बनाएको थियो। केन्याका लागि पटेलले ६७‚ ओबुयाले ६२‚ इरफान करिमले ३१ र सचिन बुदियाले २७ रन बनाए। नेपाली बलर सोमपाल कामी र करण केसी दुवैले ३/३ विकेट लिए। आदिल आलम र पवन सर्राफले १/१ विकेट लिए। नेपालले केन्यासँगको दोस्रो एकदिवसीय खेल भोलि शनिबार खेल्नेछ। सोमबार नेपालले सिरिजको तेस्रो तथा अन्तिम खेल खेल्नेछ।