
काठमाडौँ : कैलाली क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाको नाम सिफारिस भएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवा पत्नीसमेत रहेकी नेतृ राणाको नाम नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ‘क’ को प्रदेश समितिको बुधबार बसेको बैठकले राणाको नाम सिरफारिस गरेको हो ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा राणालाई क्षेत्र नम्बर ५ बाट एकल उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी २०७४ सालको निर्वाचनमा नेकपा एमालेका नेता नारदमुनी रानासँग पराजित भएकी थिइन् । राना २७ हजार २०२ मतसहित विजयी हुँदा राणाले २२ हजार ३२२ मत ल्याएकी थिइन् । त्यसै गरी संघिय समानुपातिकका लागि पनि महिला तर्फबाट जीवन राना सर्वसम्मत एकल उम्मेदवार बनेकी छन् ।
बैठकले कैलाली ५ को ‘क’ प्रदेश सभाको लागि प्रत्यक्ष तर्फ ८ जनाको नाम सिफारिस गरेको छ । जसमा गणेश बहादुर देउवा, सन्तराम चौधरी, रामसमझ राना, प्रभातकुमार चौधरी, प्रेमराज जोशी, नारायणप्रसाद बराल, लक्ष्मीनारायण चौधरी र सिताराम राना रहेका छन् । यसै गरी समानुपातिक तर्फ १८ जनाको नाम सिफारिस गरिएको छ ।
जसमा उद्धबबहादुुर विष्ट, सिताराम राना, गणेशबहादुर देउवा, सन्तराम चौधरी, आशाराम राना, रामसमझ राना, प्रभातकुमार चौधरी, जमुना दाहाल भण्डारी, अम्बादत्त भट्ट, नारायणदत्त भट्ट, प्रमीला लम्साल, गणेशप्रसाद जोशी, गरिवदास डगौरा थारु, लम्मी प्रसाद देवकोटा, लक्ष्मीनारायण चौधरी, कमलबहादुर पुन मगर, सरोज चौधरी र लक्ष्मी भण्डारीको नाम सिफारिस गरिएको हो ।